काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।
दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउनेछन्। यस्तै सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउनेछन्। गत फागुन १३ गते जनता समाजवादी पार्टी जसपा नेपालबाट प्रतिनिधिसभा सदस्य रहेकी सहनाज रहमानको निधन भएको थियो।
आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्” भन्नेप्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्ने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ।